उनीको (Woollen) मजेत्रोसँग गाँसिएका यादहरु

धरान पढ्दा बिद्यालय छुट्टीमा पहाड घर गएको बेलाको घटना हो । आमा सीपकारी, आमा र छोरीको लागि भनेर उनीको जोडा मजेत्रो बुन्नलाई तान लगाउनु भयो र घर धन्दा र खेतबारीबाट थोरै निस्किएको फुर्सदमा तान बुन्न बस्नुहुन्थ्यो । म सानै देखि चकचके स्वभावको । आमा दायाँबायाँ लागेको मौका पारेर तान बुन्न बसी हाल्थें । तान तन्काउन पछाडी ढाँडमा लगाउने काम्रो मेरो सानो ज्यानलाई थाम्न निकै धौ धौ पर्थ्यो । तरै पनि रहरको नाममा उपद्रो गर्न भने छोड्थिन । अनि तान बुन्दा बुनौटो (तनौटोः ठाडो लाग्ने र बुनौटोः तेर्सो लाग्ने धागो) धागोको थोली आफ्नो हातभन्दा नि लामो हुनाले निकै संघर्ष गर्न पर्थ्यो मलाई तनौटोभित्र छिराएर मेलो अगाडि सार्न । २-४ सरो बुने पछि कता के मिल्दैनथ्यो अनि बुट्टा ताट्ना पर्थ्यो । तान बुन्दा ताट्ना पर्नु भनेको बुट्टा बिग्रनु हो । तान ताट्ना परेको थाहा हुना साथ म काम्रो हटाएर बिरालो चालमा आमाले जस्तो अवस्थामा तान छाड्नु भएको थियो त्यस्तै अवस्थामा राखेर सुइँकुच्चा ठोक्थें । अर्को पटक तानमा बस्नासाथ आमाले थाहा पाइ हाल्नु हुन्थ्यो अनि एक झमक गाली झर्थ्यो । म चुपचाप मूल ढोकाको कापमा उभिएर गाली थाप्थें । करिब महिना दिनमा आमाले २ थान मजेत्रो बुनेर सकाउनु भयो । एक दिन जोडा मजेत्रो ओढेर आमा छोरी घर माथिको रानी बनमा ढलेको रुख चिर्न गयौं । आमा बन्चरोले मुढा गिँड्न लाग्नु भयो म भने खुकुरीले हाँगा विंगा काट्दै थिएं । तल्ला घरे साइँला काका त्यही बाटी हुँदै माथिल्लो गाउँ जाँदै हुनु हुँदो रहेछ हामीलाई देखे सी थोरै मास्तिर आएर टुक्रुक्क बस्नु भयो, मकैको खसेलामा सुर्ती बेर्नु भयो अनि आमासँग लाइटर मागेर सल्काउनु भयो । धुवाँ फुस्स फाल्दै भन्नु भयोः

काकाः ए कान्छी, आमाले गिँडेको मुढा चिर्न सक्छेस् के? तिमी त शहर गएर त तागतिलो खाना खान नपाएर खिएरै मर्न लागिछस् ।

मः मुढा चिर्ने बन्चरोको धार पातलो छ नि है काका । मोटो भएको भए त मुढा के चिरिन्थ्यो होला र?

काकाः ए गाँठे कुरा त दह्रै पो गर्छस् त तिमी पनि । ल ल चिरेर देखा त…..

म फेरी साह्रै ज्याद्री के सानै देखि । खै अब मेरो चिर्ने पालो भनेर आमासँग बन्चरो मागेँ अनि आमाले गिँड्नु भएको मुढा चिर्न थालेँ । काका डिलमा बसेर एक छिन मैले मुढा चिरेको चाख लिएर हेर्नु भयो ।

काकाः आजे आजे त लेस्सु नि रछ हाउ (अलि अलि त पारा ल्याउँदा पो रछ)। ल भाउज्यू अब तिमीले सुख पाउने भइछेस् । बन्चरो चिप्लेर खुट्टा काट्लास् हातमा थुक लगा भनेर काका उकालो लाग्नु भयो ।

काका गए सी एक झमक अन्तिम पटक बन्चरो के मुढामा झरेको थियो, माथिबाट मच्चाएर तल झार्दा ओढिराखेको मजेत्रोको फेरो फुस्किएर मुढामाथि पसारियो त्यस माथि बन्चरोको धार खस्यो । म टक्क अड्किएँ यता उता हेरेँ, आमा रुखमा अडेस लागेर आराम गर्दै हुनु हुँदो रछ देख्नु भएन । नयाँ मजेत्रोको फेरोमा त २ इन्चको प्वाल परि त गो । हल्ला खल्ला नगरी शान्तसँग मजेत्रो पट्याएँ, अघि काका बसेको ठाउँमा थपक्क राखेँ अनि बाँकी दाउरा चिर्ने काम गरेँ ।

बनबाट फर्के सी आमा चूलामा खाना बनाउन लाग्नु भयो । म आँगनमा गुन्द्री फिँजाएर हाते कल निकालेर मजेत्रो रप्फु गर्न बसेँ । घरमा कल भएकोले गाउँका केटाकेटीहरूको कपडा अल्टर वा रप्फु गरि दिन्थें म गएको बेला ।

आमाः तलाईँ पनि के के धुन चढ्छ के । भोलि गरे हुन्न ?

मः सुब्बा कान्छा मामाघर जाने रे के । उसको सर्ट अल्टर गरि दिनु भनेको छ ।

आमा चौकामा व्यस्त हुनु भो । यही मौका छोपेर मैले त्यो बन्चरोको धारले काटेको मजेत्रो मिल्ने धागो राखेर रप्फु गरेँ । बिग्रेको भत्केको मर्मत गर्न निकै सिपालु थिए । निकै राम्ररी नियालेर नहेरेसम्म नदेखिने गरी मजेत्रोमा रप्फु भरेँ । रप्फु भरेको मजेत्रो लगेर आमाको नयाँ मजेत्रोसँग साटेँ । घर बसिन्जेल आमाले त्यो रप्फु गरेको मजेत्रो ओढ्नु भयो तर रप्फु गरेको ख्याल नै गर्नु भएन । बिदा सकिएर धरान फर्किँदा मैले आमाको नयाँ मजेत्रो लिएर आएँ । अझै पनि मैले त्यो मजेत्रो जतन गरी राखेकी छु । आमा बित्नु भए पछि त्यो रप्फु भरेको मजेत्रो कता पुग्यो थाहा छैन तर मसँग ती मजेत्रोसँग गाँसिएका यादहरू भने अझै ताजा छन् । ३ वर्ष अगाडि तल्ला घरे साइँला काका बितेको खबर पाउँदा मैले पुन एक पटक त्यही मजेत्रो निकालेर काका सम्झेकी थिए । आजकल काठमाडौंको जाडोले सताउँदा म निकै नै त्यो मजेत्रो ओढ्ने गर्छु । मजेत्रोसँगै आमा अनि काकासँगका यादहरू मनभरि फैलिन्छन् ।

20191222_214532

Leave a comment