साइकल जात्रा


कलेज जाने भए पछि साइकल चढ्न सिकियो। त्यसको लगत्तै नयाँ हिरो रेञ्जर साइकल पनि भेटियो (काकाको घोडा मेरो हि हि 😛 )। त्यस पछि त ‘के चाहियो कानो?, आँखो।’ भने झैं अलि अलि गुडाउँन जान्ने मात्र के भएकी थिएं, चढ्न थालि हालियो। काकाले त ‘अलिक बानी परेसी मात्र कुदाउनु’ भन्दै हुनुहुन्थ्यो, आफू बढी नै कन्फिडेन्ट भएर कुदाइ हालियो उकालो तिर। कलेज छुटे पछि छाता चौकबाट आउदै थिएं, त्यति नै बेला शिव टाकिज सिनेमा छुटेर दर्शकहरुको हूल निस्केर बाटो नै भिड भयो। त्यै पनि ढिट भएर घण्टी बजाउँदै साइकल चलाउँदै थिएं, एक्कासी एक जना आधा बैंसे आमैले बाटोमा के हो खसालि छिन्, टिप्नलाई मेरै साइकल अगाडि निहुरी त हालिन्।अनि त के र…. ए…ए…ए… भन्दा भन्दै साइकल त चुम्बकले ताने जस्तै गरी चढी त गो ति आमैको ढाँड माथि, परेन त फसाद! के गर्ने अर्को केही उपाय नरहे पछि साइकलबाट ओर्लेर सरी… सरी… सरी… भन्दै त्यही भिड भित्र पसियो नि पसिना पुछ्दै, साइकल घिच्याउँदै। अलि पर पुगेर यसो फर्केर हेर्‍या त ति आमै त धारे हात लगाउँदै सराप्दै रछिन् फन फन्ति घुम्दै घुम्दै, ढाँडमा पूरै साइकलको पाङ्ग्राको छाप बोकेर….. 😛

त्यो दिनको सिकाइः ‘हुल मुलमा साइकल दोर्‍याउनु नै बेस’।

2 Replies to “साइकल जात्रा”

  1. पढ्दै गर्दा ध्यान अलिकति पनि भङ्ग भएन
    लेखकको जादु अतुलनीय छ। bravo 👏

    Like

Leave a comment